कान्तिपुर डेन्टल कलेजद्वारा डिजिटल डेन्टिस्ट्री सेन्टर सञ्चालन
हेल्थपत्र
काठमाडौं, ११ जेठ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले ‘ ‘हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन’ सहितको डिजिटल डेन्टिस्ट्री सेन्टर सञ्चालनमा ल्याएको छ।
आज अस्पतालमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिनका डीन प्राडा मनोज हुमागाईँले उक्त डिजिटल डेन्टिस्ट्री कक्षको उद्घाटन गरेका हुन् ।
केडीसीले दाँतको इम्प्लान्ट, अवटमेन्ट, क्राउन, ब्रिज तथा भिनियर जस्ता उपचारलाई छिटो, सटीक र डिजिटल प्रणालीमार्फत प्रदान गर्ने उद्देश्यले उक्त प्रविधि सञ्चालनमा ल्याएको जनाएको छ । डीन प्राडा हुमागाईंले डेन्टल एजुकेशन, क्वालिटी केयर, क्वालिटी सर्भिसका लागि डिजिटल डेन्टिष्ट्रीको ठूलो योगदान रहने भन्दै केडीसीलाई सेन्टर अफ एक्सिलेन्सको बाटोमा हिडेको बताए ।
केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले नयाँ प्रविधिले दन्त उपचार सेवा र शिक्षण प्रणाली दुवैमा ठूलो परिवर्तन ल्याउने दावी गरे ।
‘यो मेसिन नहुँदा हामी एनालग पद्धतिबाट सेवा दिन बाध्य थियौं,’ उनले भने, ‘अब हामी पूर्ण रूपमा अटोमेटेड, डिजिटलाइज्ड र एआईमा आधारित प्रविधिमा गएका छौं । यसले बिरामीलाई कम समयमा गुणस्तरीय सेवा दिनुका साथै विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिसँग प्रत्यक्ष अभ्यास गर्ने अवसर पनि प्रदान गर्छ ।’
केडीसीले सञ्चालनमा ल्याएको नयाँ प्रविधि भने ‘कम्प्युटर एडेड डिजाइन तथा कम्प्युटर एडेड म्यानुफ्याक्चरिङ ९क्याडरक्याम०’ प्रणालीमा आधारित रहेको जनाएको छ । यो प्रणालीमार्फत ‘इन्ट्राओरल स्क्यानर’ प्रयोग गरी बिरामीको मुखभित्रको संरचना डिजिटल रूपमा स्क्यान गरिन्छ र त्यसलाई ‘एसटीएल फाइल’का रूपमा सुरक्षित गरिन्छ ।
उक्त डिजिटल डाटा प्रयोग गरी कलेजकै डिजिटल ल्याबमा ‘थ्रीशेप डेन्टल सिस्टम’ तथा ‘एक्जोक्याड’ जस्ता सफ्टवेयरमार्फत डिजाइन तयार गरिन्छ । त्यसपछि हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिनबाट क्राउन, ब्रिज, भिनियर तथा अलाइनर ट्रे लगायतका संरचना स्वचालित रूपमा निर्माण गरिने बताइएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक