खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य : मन्त्री मेहता

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौँ, ९ जेठ L स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)का उच्चस्तरिय टोलीसंग छलफल गरेकी छन् ।

स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९ औँ विश्व स्वास्थ्य सभामा गाभीका उच्चस्तरिय टोलीसंगको छलफलमा उहाँले सङक्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताएकी हुन् ।

उनले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गार्हस्थ्य उत्पादन को करिब पाँच प्रतिशतको हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाभीसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

मन्त्री मेहताले स्तरोन्नतिसँगै अन्तर्राष्ट्रिय अनुदानको ढाँचा परिवर्तन हुने र खोप खरिदमा नेपालले आफ्नै आन्तरिक लगानी क्रमशः बढाउँदै लगेर अन्ततः आफैं सक्षम हुनुपर्ने अवस्था रहेको बताइन् ।

छलफलमा पारस्परिक सहकार्यलाई निरन्तरता दिने र सङ्क्रमणकालीन वित्तीय व्यवस्थापनलाई बिना कुनै अवरोध सहज बनाउने विषयमा सहमति भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।

बैठकले नेपालको राष्ट्रिय स्वास्थ्य प्रणालीलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने मन्त्री मेहताले बताएको उनले जानकारी दिए ।
आर्थिक स्तरोन्नतिको समयमा पनि जीवनरक्षक स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्न र दुई दशकभन्दा लामो नेपाल र गाभीबीचको साझेदारीलाई अझ विस्तार गर्न छलफलमा दुवै पक्ष प्रतिबद्ध देखिएको मन्त्री मेहताले बताइन् ।

दुई पक्षको सहकार्यले समग्र नेपाली जनताको स्वास्थ्य र भलाईमा दीर्घकालीन योगदान पु¥याउने सुनिश्चित गरेको मन्त्री मेहताले उल्लेख गर्दै भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।

गाभीले सन् २००० यता नेपालको राष्ट्रिय खोप कार्यक्रमको एक प्रमुख साझेदार रहँदै आएको छ । सन् २०२५ मा नेपालले हासिल गरेको ’रुबेला निवारण’ लगायत एचपीभी र अन्य जीवनरक्षक खोपको सफल विस्तारमा गाभीको महत्वपूर्ण प्राविधिक तथा वित्तीय भूमिका रहेको मन्त्री मेहताले उल्लेख गरिन् ।

“आगामी सन् २०२६ नोभेम्बरमा नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने संघारमा रहेको परिप्रेक्ष्यमा यो वार्ताले विशेष रणनीतिक महत्व राख्दछ,” मन्त्री मेहताले भनिन् ।

गत जेठ ३ गते सभामा सहभागि हुन जानु भएका मन्त्री मेहताले विभिन्न देशबाट आएका आफ्ना समकक्षी, दातृ निकायका प्रमुखसंग ‘साइडलाइन’ वार्ता गरिरहेकी छन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक