नामका अगाडि अवैध रुपमा प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
हेल्थपत्र
काठमाडौँ, ८ जेठ : नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि अवैध रुपमा प्रयोग गरिएका ‘डाक्टर’(डा.) शब्द हटाउन निर्देशन दिएको छ ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जुन सुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि अवैध रुपमा ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकोले उक्त ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् ।
काउन्सिलमा दर्ता भएका चिकित्सक तथा आफ्नो विधागत परिषद् ऐनद्धारा चिकित्सक उपाधि प्राप्त गरेका वाहेक अन्य सम्बन्धित परिषद्मा दर्ता रहेका वा नरहेका जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि अबैध रुपमा ‘डाक्टर’ शब्द प्रयोग गर्न नपाइने उनले बताए ।
काउन्सिलले नेपालमा आधुनिक चिकित्सा प्रणाली अन्तर्गत विरामीको उपचार गर्ने, परामर्श दिन र नामको अगाडि डाक्टर÷ चिकित्सक पद प्रयोग गर्ने कानुनी अधिकार नेपाल मेडिकल काउन्सिल ऐन २०२० बमोजिम काउन्सिलमा दर्ता भएका चिकित्सकमा मात्र रहेको उनले बताए ।
उनले आधिकारिक कागजपत्र, प्रेस्क्रिप्सन प्याड, क्लिनिको साइनबोर्ड, भिजिटिड कार्ड तथा सवै सामाजिक सञ्जालबाट त्यस्ता अवैध रुपमा डाक्टर लेख्नेलाई हटाउन निर्देशन दिए ।
काउन्सिलले काउन्सिलमा दर्ता भएका चिकित्सक वाहेक अन्य जुनसुकै विधा वा परिषद्मा दर्ता भएका वा नभएका व्यक्तिको नामको अगाडि डाक्टर (डा.) उपाधि प्रयोग गरि आधुनिक चिकित्साको भ्रम सिर्जना गरेमा वा आधुनिक औषधि सिफारिस गरेको पाइएमा काउन्सिलको ऐन वमोजिम तीन बर्षसम्म कैद वा तीन हजार रुपिया जरिवाना तिर्नुपर्ने उल्लेख छ ।
काउन्सिलले स्वदेश वा विदेशका विभिन्न विश्वविदालयबाट प्रमाणपत्रमा ‘डाक्टर’ शब्द उल्लेख भई शैक्षिक उपाधि प्राप्त गर्नुको अर्थ स्वतन्त्र रुपमा चिकित्सीय अभ्यास गर्ने अनुमति स्वतः प्राप्त नभएको बताएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक