नेपाली नागरिकता त्यागेका ३६ जना गैरआवासीय नेपाली चिकित्सकको लाइसेन्स खारेज तत्काल नहुने

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौं, ५ जेठ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेका ३६ जना गैरआवासीय नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय हालका लागि स्थगित गरेको छ।

काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले यसअघि वैशाख ११ र १८ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएको दर्ता खारेजीसम्बन्धी निर्णय स्थगित गर्दै ती चिकित्सकको नाम दर्ता किताबमै यथावत् राख्ने निर्णय गरेको हो।

प्रकाशित सूचनामा नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकको दर्ता खारेज गर्ने निर्णय गरिएको उल्लेख गरिएको थियो।

काउन्सिलले अब गैरआवासीय नेपाली चिकित्सकलाई छुट्टै “एनआरएन चिकित्सक” श्रेणीमा अद्यावधिक गर्ने तयारी गरेको छ। त्यसका लागि आवश्यक कार्यविधि तयार पारिने र सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत सञ्चालन गरिने निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।

डा. पाण्डेका अनुसार विदेशमा रहेका चिकित्सकलाई नेपाल आउनुपर्ने बाध्यता नरहने गरी अनलाइन प्रणालीमार्फत नै कागजात बुझाउने, शुल्क तिर्ने तथा दर्ता अद्यावधिक गर्ने व्यवस्था गरिनेछ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक