काउन्सिलले चिकित्सकको लाइसेन्स खारेज गरेकोमा गैरआवासीय नेपाली संघको आपत्ति
हेल्थपत्र
काठमाडौँ, २३ वैशाख । गैरआवासीय नेपाली संघले नेपाल मेडिकल काउन्सिलले विदेशमा रहेका गैरआवासीय नेपाली ३६ जना चिकित्सकहरूको लाइसेन्स खारेज गरेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
संघका प्रवक्ता सोमलाल सापकोटाले जारी गरेको विज्ञप्ति मेडिकल काउन्सिलको उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्यमा असर पार्नुका साथै विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा नकारात्मक प्रभाव पर्ने ठहर गरिएको जनाएका छन् ।
विज्ञप्तिमा संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासकै आधारमा चिकित्सकहरूको पेशागत पहिचानमाथि प्रश्न उठाउने वा खोस्ने कार्य न्यायोचित नभएको जनाएको छ। चिकित्सा पेशा मानव सेवासँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यस्ता निर्णय गर्दा परामर्श, स्पष्ट आधार र प्रक्रियागत पारदर्शिता अनिवार्य हुनुपर्नेमा जोड दिइएको छ।
संघले सरकारले अघि सारेको ‘सीप हस्तान्तरण’ नीति विपरीत दक्ष चिकित्सकलाई निरुत्साहित गर्ने खालको निर्णय भएको एनआरएनएको भनाइ छ। संघले “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने अवधारणालाई व्यवहारमा लागू गर्दै डायस्पोराको योगदानको सम्मान गर्न र उनीहरूको सीप तथा दक्षताको उपयोग सुनिश्चित गर्ने समावेशी नीति निर्माण गर्न समेत ध्यानाकर्षण गराएको छ।
केही दिन अघि काउन्सिलले दुई पटक गरि नेपाली नागरिकता त्यागेका ३६ जना त्यागेका चिकित्सकको लाइसेन्स खारेज गरेको थियो ।

सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक