आज विश्व दम दिवस : नेपालमा करिब ८ प्रतिशत मानिस दमबाट प्रभावित

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौँ, २२ वैशाख : आज विश्व दम दिवस दिवस विविध कार्यक्रम गरि मनाइदै छ ।

दिवसकै अवसरमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. अनुज भट्टचनले सार्वजनिक गर्नु भएको तथ्याङ्क अनुसार नेपालमा करिब ६ देखि ८ प्रतिशत मानिस दमबाट प्रभावित हुने गरेको पाइएको छ ।

उनका अनुसार नेपालमा तीव्र शहरीकरण, बढ्दो वायु प्रदूषण तथा मौसमीय तथा जलवायु परिवर्तनका प्रभावका कारण दमको जोखिम निरन्तर बढ्दो क्रममा रहेको छ ।

दमले बालबालिका, किशोरकिशोरी, वयस्क तथा वृद्ध सहित सबै उमेर समूहका मानिसलाई प्रभावित गरेको  छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वभर करिब २६ देखि ३० करोड मानिसहरू दम रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ ।

दमले शारीरिक गतिविधिमा सीमितता आउने, निद्रामा समस्या हुने र निरन्तर थकान महसुस हुने जस्ता समस्या देखापर्छन् ।

यस्तै महाशाखाका निर्देशक डा. भट्टचनका अनुसार दमले मानसिक स्वास्थ्यमा पनि असर पार्दै तनाव, डर र चिन्ता बढाउन सक्छ, जसले समग्र जीवनको गुणस्तर घटाउँछ ।

दमले बालबालिकाको शारीरिक विकास, शैक्षिक उपलब्धि तथा सामाजिक गतिविधिमा प्रत्यक्ष रूपमा बाधा पु¥याउने गर्दछ ।

दम अझै पनि कम पहिचान हुने भएकाले धेरै बिरामीहरूले प्रर्याप्त उपचार नपाउने गरेको उहाँको भनाई रहेको छ ।

स्वास्थ्य संस्थामा दम उपचारका आधारभूत सामग्री, विशेषगरी इनहेल्ड कोर्टिकोस्टेरोइडयुक्त (एन्टी–ईन्फलामेटरी) इनहेलरको उपलब्धता कम हुनु वा मूल्य अत्यधिक महँगो हुनुका कारण विश्वभर हुने दमसम्बन्धी करिब ९६ प्रतिशत मृत्यु हाम्रा जस्तो मध्यम आय भएका देशमा हुने गरेको पाइएको छ ।

उच्च आय भएका देशहरूमा समेत औषधिको उच्च मूल्य पर्ने भएकोले धेरै दमका बिरामीहरूले आवश्यक इनहेलरमा पूर्ण पहुँच पाउन सकिरहेका छैनन् । जसले गर्दा दम राम्रोसँग नियन्त्रणमा नआउने र रोकथाम योग्य मृत्युहरू समेत हुने अवस्था सिर्जना भइरहेको छ ।

धेरै अवस्थामा दमको अन्य श्वासप्रश्वास सम्बन्धि रोगसँग लक्षण मिल्न हुनाले गलत रूपमा उपचार हुने गरेको महाशाखाका निर्देशक डा. भट्टचनले बताए ।

“इनहेलरको सट्टा मुखमार्फत वा सुईमार्फत दिने औषधिमा बढी निर्भर हुने प्रवृत्ति अझै देखिन्छ, जुन सधैं प्रभावकारी हुँदैन।त्यसैले, उपचारमा ढिलाइ तथा आवश्यक औषधिको अभावका कारण जटिलता बढ्ने जोखिम रहन्छ, ” उनले भने ।

विश्व दम दिवस आज ‘दम भएका सबैलाई एन्टी–ईन्फलामेटरी ईनहलेरमा पहुँच– अहिलेको प्रमुख आवश्यकता’ नाराका साथ मनाइदै छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक