आजदेखि शुरु हुन थालेको एचपिभी खोप कार्यक्रम के हो
हेल्थपत्र
२०८३ बैशाख ४ शुक्रबार
पाठेघरको मुखको क्यान्सर र एचपिभी
- नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाहरूको मृत्यु हुनेमा यो पहिलो स्थानमा रहको छ ।
- नेपालमा औसतमा हरेक दिन ६ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको संक्रमण हुने गरेको छ भने ४ जना महिलाको यस रोगका कारण ज्यान जाने गरेको छ।
- यो क्यान्सर मुख्य गरेर एच.पि.भी. भाइरसको संक्रमणबाट हुन्छ ।
- एच.पि.भी. को २०० भन्दा बढी किसिमका प्रजातिहरू (serotypes) हुन्छन् र यसमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यस मध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुन् ।
- नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ ।
- पाठेघरको मुखको क्यान्सर रोग निवारण गर्ने लक्ष्य हासिल गर्नेतर्फ उन्मुख हुन विश्व स्वास्थ्य संगठनले तीनवटा स्वास्थ्य सेवाहरूको गन्तव्य निर्धारण गरेको छ जसमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप, उच्च गुणस्तरीय विधीबाट पाठेघरको मुखको परीक्षण र पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरूको उपचार पर्दछन् ।
- ती मध्ये नेपालमा दोस्रो र तस्रो सेवा विगत लामो समयदेखि उपलब्ध गराईदै आएकोमा गत वर्ष देखि यो रोग विरुद्धको एच.पि.भी. खोप सेवा देशव्यापी रुपमा सुरुवात गरिएको छ ।
एचपिभी खोप
- खोपको नाम: सेकोलिन (Cecolin)
- यो खोप एक मात्रा दिईने छ ।यो खोप एक मात्रालाई नै पूर्णमात्रा मानिन्छ ।
- गत वर्षको अभियानमा एच.पि.भी. खोप लगाइसकेका किशोरीहरूले यो वर्ष खोप लगाउनु पर्दैन ।
आजदेखि सञ्चालन हुने एचपिभी खोप कार्यक्रम
- पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्ममा जनस्वास्थ्यको समस्याको रुपमा नहुने अवस्थामा पुर्याएर निवारण गर्ने विश्वव्यापी लक्ष्य हासिल गर्ने तर्फ उन्मूख हुने उद्धेश्यले नेपालमा गतवर्षदेखि एच.पि.भी. खोपलाई नियमित खोपमा सुरूवात गरिएको छ ।
- यहि माघ २५ गतेदेखि फागुन १५ गतेसम्म देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप कार्यक्रम सञ्चालन हुँदैछ।
- अत्यधिक चिसो तथा हिमपातका कारण केही हिमाली जिल्लाहरूमा भने यो कार्यक्रम चैत्र–वैशाखमा सञ्चालन गरिनेछ।
- खोप सेवा सञ्चालन हुने मिति र समय स्थानीय तह अनुसार फरक हुन सक्ने भएकाले आ–आफ्नो विद्यालय वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन अनुरोध गरिन्छ ।
- नियमित खोप कार्यक्रम अन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा कुनै कारणबस विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई एच.पि.भी. खोप दिईंदैछ ।
- साथै गत वर्ष सञ्चालन भएको एच.पि.भी. खोप अभियानमा खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पनि यो वर्ष अन्तिम मौकाका रूपमा एच.पि.भी. खोप दिईनेछ ।
- यो खोप मुख्यत: विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट दिईने छ ।
- यो वर्ष करिव तीन लाख ५० हजारभन्दा किशोरीहरूलाई एचपिभी खोप दिइनेछ ।
- यो खोप नि:शुल्क छ, सुरक्षित छ र यो खोपले जीवन रक्षा गर्छ ।
प्रस्तुत : डा. अभियान गौतम
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक