अबदेखि मेडिकल काउन्सिलमा अनलाइन मतदान हुने
हेल्थपत्र
काठमाडौं, २ माघ । नेपाल मेडिकल काउन्सिलको आगामी निर्वाचनमा अनलाइन मार्फत मतदान हुने भएको छ ।
काउन्सिलले आगामी निर्वाचनमा अनलाईन मतदान हुने व्यवस्था गरेको काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिए । उनले चिकित्सकलाई सजिलो बनाउनका लागि अनलाइन मतदान गर्न थालिएको बताए । उनले अनलाइन मतदान गर्दा सवै चिकित्सक सहभागि हुने समेत बताए ।
काउन्सिलले परीक्षा सञ्चालन र अनुशासन व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने जानकारी दिएको छ ।
उनले निर्वाचन प्रक्रियालाई पारदर्शी, सहज र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको जानकारी दिए।
गत पुसमा सम्पन्न निर्वाचनमा अधिकांश विजयी उम्मेदवारको घोषणापत्रमा मतदान प्रणाली डिजिटलाइज गर्ने र अनलाइन मतदानको व्यवस्था गर्ने योजना रहेको थियो।
त्यसैगरी, काउन्सिलले लाइसेन्स तथा स्नातकोत्तर परीक्षालाई निष्पक्ष, एकरूप र समयमै सञ्चालन गर्ने योजना पनि तय गरेको छ ।
यस अन्तर्गत कम्प्युटर–आधारित परीक्षा प्रणालीमार्फत प्रश्नपत्र सेट तयार गरिने र नेपालका सातै प्रदेशमा एकैसाथ परीक्षा सञ्चालन हुने व्यवस्था मिलाइनेछ ।
यसअघि परीक्षार्थीहरूलाई काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। काउन्सिलका अनुसार यस प्रणालीबाट परीक्षार्थीलाई यात्रा र समयको बचत हुने मात्र नभई परीक्षा प्रक्रियाको पारदर्शिता र गुणस्तर पनि बढ्नेछ।
अनुशासनसम्बन्धी मुद्दाहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न काउन्सिलले मेडिको लिगल विभाग गठन गर्ने निर्णय पनि गरेको छ।
उक्त विभागमा आवश्यक कानुनी, प्रशासनिक र प्राविधिक जनशक्ति नियुक्त गरिनेछ भने आवश्यक पूर्वाधार र लजिस्टिक सुनिश्चित गरिनेछ ।
काउन्सिलको विश्वास छ कि यस निर्णयले अनुशासनसम्बन्धी मुद्दाहरूको अनुसन्धान, निष्पक्ष मूल्यांकन र व्यवस्थापनलाई अझ व्यवस्थित, सुदृढ र विश्वसनीय बनाउनेछ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक