आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको स्वास्थ्य शिविर

हेल्थपत्र

२०८२ माघ २ बिहीबार

रामेछाप, ९ पुस । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले टोल–टोलमा स्वास्थ्य शिविर सञ्चालन गर्दै घर–घरमा पुगेर बिरामी जाँच गर्ने अभियान सुरु गरेको छ। चिकित्सालयले साप्ताहिक रूपमा यो अभियान सञ्चालन गर्न थालेको हो।
अभियानअन्तर्गत स्वास्थ्यकर्मीहरू टोल–टोलका घर–घरमा पुगेर नागरिकको स्वास्थ्य जाँच गर्ने र थप उपचार आवश्यक पर्ने बिरामीलाई चिकित्सालयमा बोलाउने व्यवस्था गरिएको छ। चिकित्सालयमा आउने बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइने गरिएको छ।

घरदैलोमै स्वास्थ्य जाँच गर्दा नागरिकले चिकित्सालयले दिने सेवाबारे जानकारी पाउने र रोग लागेका बिरामीले समयमा नै उपचार पाउने भएकाले अभियान सञ्चालन गरिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताए। घरमै पुगेर सेवा दिँदा रोगको पहिचान र समयमै निदान गर्न सहज हुने उनको भनाइ छ।
स्वास्थ्यकर्मीहरूले टोल र घर–घरमा पुगेर प्रेसर, सुगरलगायत अन्य रोगको जाँच गर्ने र थप उपचार आवश्यक परेमा चिकित्सालयमा पठाउने गरेका छन्। घरमै आएर स्वास्थ्य जाँच गर्दा आफूजस्ता ज्येष्ठ नागरिकलाई निकै सहज भएको मन्थली–८ की वृद्धा मिश्री श्रेष्ठले बताइन् ।

यसैगरी, अहिलेसम्म सुगरको जाँच नगराएको बताउने रञ्जिता माझीले जाँच गर्दा आफ्नो सुगरको मात्रा बढी देखिएको जानकारी दिइन् । यसले समयमै उपचारका लागि जान सजिलो भएको उनको भनाइ छ। स्वास्थ्यकर्मी सुस्मिता कार्कीका अनुसार जाँच गरिएका धेरै नागरिकमा सुगर र प्रेसर बढेको पाइएको छ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक