आठ हजार एचआईभी संक्रमित उपचारको दायरामा आएनन्
हेल्थपत्र
प्रशान्त वली
काठमाडौ, १५ मंंसिरः
हाल नेपालमा आठ हजार एचआईभी संक्रमित राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको केन्द्रको उपचारको दायरामा आउन नसकेको पाइएको छ । आज विश्व एड्स दिवस हो । नेपाल सहित विश्वभर नै ‘अवरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ,’ भन्ने मुल नाराका साथ दिवस मनाइएको छ ।
केन्द्रका अनुसार सात हजार ९ सय ६४ जना एड्स संक्रमित आफ्नो पहिचान खुलेर उपचार लिन नआएको पाइएको हो ।
नेपालमा हाल ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको केन्द्रको अनुमान छ । जसमध्ये वार्षिक ५६९ जनाको एड्सको कारणले मृत्यु भएको केन्द्रको अद्यावधिक तथ्यांक छ । वयस्क जनसंख्यामा ०.१३ प्रतिशत संक्रमण (प्रिभ्यालेन्स दर) रहेको छ । नेपालमा हरेक दिन १.७ जना व्यक्तिमा एचआईभी संक्रमण हुन्छ । केन्द्रको तथ्यांक अनुसार २६ हजार ३७२ जनाले उपचारको दायरामा आएका छन् ।
केन्द्रका निर्देशक डा. सर्वेश शर्माले भने, ‘केहिले नाम, फोन नम्बर, ठेगाना नै गलत टिपाउनुहुन्छ । कतिपय बसाइँसराइ गरेर गइसकेका हुन्छन् । केहि त सम्पर्कमै आउन चाहदैँनन् । संक्रमित खुलेर उपचारमा नआउनु चुनौतिको विषय भएको छ ।’
सन् २०२४ मा ६१४ व्यक्तिहरुमा एचआईभिको नयाँ संक्रमण भएको अनुमान गरिएको छ । सन् २००० मा पाँच हजार ६ सय व्यक्तिहरुमा नयाँ संक्रमण अनुमान गरिएको थियो ।
केन्द्रका अनुसार सन् २०२४ मा १४ वर्ष उमेर समूहसम्मका ३७ जना बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान छ ।
नेपालमा २०२४ मा एड्सको कारणले ५६९ जनामा मृत्यु भएको छ । निर्देशक डा. शर्माले २०२४ मा २६ हजार ३७२ जना संक्रमितले एन्टिरेट्रोभाइरल उपचार लिइरहेका छन् । त्यो संख्या कुल एचआइभी संक्रमितमध्ये ७७ प्रतिशत हुन् ।
पहिलो १९८१ मा एचआईभी संक्रमित फेला परेका थियो । सन् २०२४ को अन्तसम्म नौ करोड १४ लाख व्यक्तिहरु एचआइभीबाट संक्रमित भइसकेका छन् । चार करोड ४१ लाख एचआइभीका कारण मृत्यु भइसकेको छ ।
निर्देशक डा. शर्माले समुदायस्तरमा नै सङ्क्रमितहरु बढी अपेहेलित पर्ने भएकोले समुदायलाई एड्स अन्त्य गर्ने अभियान थाल्नुपर्ने बताए ।
केन्द्रका अनुसार नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरु सुइद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मीहरु, कारागारमा रहेका कैदीबन्दीहरु, पुरुष समलिंगीहरु तथा तेस्रोलिंगीहरु र रोजगारीका लागि विदेशीनेहरु छन् । यी मध्य सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु र समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अरु जोखिम समूह भन्दा उच्च रहेको अध्ययनले देखाएको छ ।
केन्द्रका निर्देशक डा.शर्माले सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिकलाई अन्त्य गर्ने परिकल्पना लिइएको बताए । डा.शर्माले भने, ‘सन् २०२६ सम्ममा अनुमानित एचआईभी संक्रमित मध्ये ९५ प्रतिशतको पहिचान गर्ने, एचआईभी संक्रमण पुष्टि भएका ९५ प्रतिशत व्यक्तिको उपचार गर्ने र एआरटी सेवा लिइरहेका एचआईभी संक्रमित मध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हाँसिल गर्ने उद्देश्यल लिएका छौं ।
यस्तै, नयाँ एचआईभी संक्रमणलाई ९० प्रतिशतले कम गर्ने, आमाबाट बच्चामा एचआईभीको संक्रमण निवारण गर्ने र जन्मजात भिरिगिंको केस दर प्रति लाख जिवित जन्ममा ५० वा सो भन्दा कम गर्ने योजना छ । ’
नेपालको वर्तमान सन्दर्भमा एचआईभीको अवस्थालाई केन्द्रिकृत महामारिको रुपमा परिभाषित गरिन्छ । यसको अर्थ एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमणदर ५ प्रतिशत भन्दा बढि तर सामान्य जनसंख्यामा वा पूर्व प्रसूती सेवा लिएका गर्भवति महिलाहरुमा एचआईभी संक्रमणदर १ प्रतिशत भन्दा कम हुनु हो ।
हाल ६४ जिल्लाका ९६ एआरटी केन्द्रहरुबाट एन्टीरेट्रो भाइरल उपचार निशुल्क उपलब्ध गराइएको केन्द्रले जनाएको छ । देशका सबै जिल्लाहरुमा आमाबाट बच्चामा हुने संक्रमण रोकथाम गर्न पिएमटिसीटी कार्यक्रम सञ्चालनमा छ । जसअन्तर्गत् स्वास्थ्य संस्थाहरुमा गर्भवति महिलाहरुमा एचआईभी निशुल्क जाँच सुविधा छ ।
देशका ७७ वटै जिल्लाका स्वास्थ्य संस्थाहरुबाट एचआईभी परामर्श तथा परिक्षण सेवा प्रदान हुँदै आएको केन्द्रले जनाएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक