नेपालमा आयात गरिने औषधिमा मूल्य बृद्धि गरिएको छैन : औषधि आयातकर्ता संघ
हेल्थपत्र
काठमाडौँ, १२ कात्तिक : नेपाल औषधि आयातकर्ता संघले नेपालमा आयात गरिने औषधिमा मूल्य बृद्धि नगरिएको स्पष्ट पारेको छ ।
संघका अध्यक्ष पवनकुमार आचार्यले आज विज्ञप्ति जारी गर्दै नेपालमा आयात गरिने औषधिमा औषधि व्यवस्था विभागले मूल्य बृद्धि नगरेको स्पष्ट पारेका छन् ।
“हाल केही समयदेखि विभिन्न संचारमाध्यम तथा सामाजिक सञ्जालहरुमा नेपालमा आयात गरिने औषधिहरुमा औषधि विभागले जथाभावी औषधिहरुमा मूल्यबृद्धि गरिरहेको भन्ने भ्रमपूर्ण समाचारहरु प्रकाशित भएकोमा यस संघको गम्भिर ध्यानाकर्षण भएको छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा औषधी ऐन २०३५ को दफा २६ अनुसार नेपाल सरकारले ११७ प्रकारका औषधीहरुमा अधिकतम खुद्रा मूल्य निर्धारण गरेको र ती मूल्यहरु विगत दुई दशकदेखि अद्यावधिक नभएको उल्लेख गरिएको छ ।
औषधि दर्ता कार्यबिधि–२०७३ र सरकारको मिति २०७३ असार ३० गतेको निर्णय अनुसार आयातित औषधिहरु उत्पादकले उत्पादन हुने आफ्नो देशको सम्बन्धित निकायबाट अनुमति लिएको अधिकतम खुद्रा मूल्य भन्दा अधिक नहुने गरि विक्री वितरण गर्नुपर्ने सूचना बमोजिम नै औषधि विक्री वितरण गर्ने गरिएको अध्यक्ष आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै औषधीको उत्पादन र वितरणमा कच्चा पदार्थ, प्याकिंग सामग्री, ढुवानी, मुद्रास्फ्रिती जस्ता कारणले मूल्यमा समयअनुसार फरक पर्न सक्ने हुँदा सम्बन्धित उद्योगले प्रमाणित पत्रसहित पेश गरेमा मात्र विभागले मूल्य समायोजन अनुमति दिने प्रक्रिया रहेको उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक