चीनले निजामति अस्पताललाई ‘स्टेट अफ आर्ट हस्पिटल’ को रूपमा स्तरउन्नति गर्ने

हेल्थपत्र

शरद् शर्मा
काठमाडौँ, १६ भदौ ः चीन सरकारले निजामति कर्मचारी अस्पतालको स्तरउन्नति गर्ने भएको छ ।
चिनियाँ सरकारको प्रतिनिधि मण्डलले दुई हप्तासम्म अस्पतालमा बसी सम्भाव्य अध्ययन गरेर अस्पताललाई ‘स्टेट अफ आर्ट हस्पिटल’को रुपमा स्तरउन्नति गर्ने भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा. मोहनचन्द्र रेग्मीले चीन सरकारले अस्पताललाई ‘स्टेट अफ आर्ट हस्पिटल’ को रुपमा ‘तेस्रो फेज’को लागि थप दुई सय शैय्या बनाउने जानकारी दिए । यसअघि चीन सरकारले अस्पतालको ‘पहिलो फेज’ अन्तर्गत १३२ शैय्या र ‘दोस्रो फेज’ अन्तर्गत ३०० शैय्या बनाएको थियो ।
उहाँका अनुसार चीन सरकारकोे नेपालमा भवन निर्माण परियोजना हेर्ने टोलीले सम्भाव्य अध्ययन गरि भर्खरै फर्किका छन् ।
“नेपाल र चीन सरकारबीच कर्मचारी अस्पताललाई स्तरउन्नती गर्ने सम्झौता भइसकेको छ । अहिले चिनिया टोली सम्भाव्यता अध्ययन गर्न आएको थियो । अध्ययनमा चीनियाँ टोलीले अस्पताल विस्तार गर्न आवश्यक छ भनेर प्रतिवेदन बनाइसकेको छ,”उनले भने, “चीन सरकारले नै निजामति अस्पतालाई विशिष्टकृत सेवा सहितको अस्पताल र शैक्षिक कार्यक्रमको पनि बढाउनु पर्दछ भनेर नै स्तरउन्नति गर्न थालेको हो ।”
उनले चिनियाँ टोलीले चीनमा गएर प्रतिवेदन बुझाए लगतै भवन निर्माणको काम अगाडि बढ्ने बताए ।
“अस्पताल खुला ठाउँमा व्यवस्थित र उपचार सेवा राम्रो भएकोले चीन सरकारले अस्पतालको स्तरउन्नती गरिदिने भएको छ, ” उनले भने, “ नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार नै अवको एकबर्षभित्र निर्माणको काम शुरु हुन्छ । स्टेट अफ आर्ट हस्पिटल बन्ने छ ।”
दुई शैय्याको अत्याधुनिक भवन अहिले अस्पताल प्रशासनको रहेको भवन भत्काएर बन्ने छ । नयाँ अत्याधुनिक भवन बनेपछि पाँच सय शैय्याको अस्पताल बन्ने छ ।
सरकारले अस्पताललाई विशिष्टकृत सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । अस्पताललाई शुरु देखि नै चीन सरकारले निर्माण गर्दै आइरहेको छ ।
नयाँ अत्याधुनिक भवनमा एमआरआई, नयाँ सिटीस्क्यान खरिद राखिनुका साथै उच्च प्रविधि जडान गरिने कार्यकारी निर्देशक डा. रेग्मीले जानकारी दिए ।
अस्पतालमा अहिले चार सय जना बहिरङ्ग सेवाको क्षमता भएपनि एक हजार जना विरामीको उपचार गर्न आउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा मुटु, क्यान्सर जस्ता रोगको विशिष्टकृत विशेषज्ञद्धारा उपचार गरिन्छ ।
अस्पतालमा मुटुको उपचारका लागि ‘क्याथल्याव’को सेवा शुरु तयारी गरेको उनले बताए । यो बर्षभरिमा क्याथल्याव स्थापना गरेर आगामी बैशाखदेखि क्याथल्याव संचालन गर्ने बताए ।
‘प्रेसर भएर मुटुमा असर परेका, मुटुको भल्व बन्द भएकोवेला ‘क्याथल्याव’ सेवाबाट उपचार गरिन्छ धेरै मुटुका विरामीलाई क्याथल्यावबाट उपचार गरिन्छ । क्याथल्यावबाट नहुनेलाई शल्यक्रियाबाट उपचार गरिन्छ,’ उनले भने ।
यस्तै कार्यकारी निर्देशक डा. रेग्मीका अनुसार क्यान्सरको सेवालाई ‘ब्राकीथेरापी’ सेवा पनि शुरु गर्ने तयारी गरेको छ ।
“रेडिसनको उपकरण शरिरमा नै राखेर विकिरणद्धारा क्यान्सरको उपचार गर्ने प्रविधि हो,” उनले भने “यसले क्यान्सर उपचारमा राम्रो छ ।”
कार्यकारी निर्देशक डा. रेग्मीले अस्पताललाई ‘पूर्ण डिजिटिलाइजेशन’मा लैजानका लागि यसबर्ष आधार तयार गर्ने र अर्को बर्ष कार्यान्वयनमा लैजान जानकारी दिए । “विरामीको प्रयोगशाला रिर्पोट बोकेर हिडनुपर्ने अन्त्य गर्ने गरिरहेका छौ । विरामीको मोवाइलमा रिर्पोटको जानकारी आउने छ” उनले भने “ त्यसपछि विरामी चिकित्सक जाने र चिकित्सकले आफ्नो कम्युटरमा आफै हेर्ने छन् ।”
यस्तै अस्पतालले महिलाको आङ्ग खस्ने र महिलाको पिसाव चुहिने समस्याको उपचारका लागि राष्ट्रिय केन्द्र (रेफरल अस्पताल)को रुपमा विकास गर्ने थालिएको उनको भनाई रहेको छ ।
“जनशक्ति तालिम दिएर र प्रविधिबाट उपचार गर्ने ति महिलाका समस्याको उपचार निःशुल्क गर्ने तयारीमा छौ” उनले भने ।
सरकारी अस्पतालमध्ये यस अस्पतालले मात्र सङ्क्रामक रोगको अनुवांशिक अध्ययन हुने गरेको उनले बताए ।
यस्तै अस्पतालले प्रतिष्ठान बनाउने तयारी गरेको छ । अहिले प्रतिष्ठान नभएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सम्बन्धन लिएर चिकित्साका कक्षा संचालन गरिरहेको छ । अस्पतालमा अहिले दैनिक एक हजार विरामी उपचारका लागि आउने गर्दछन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक