जापानिज इन्सेफलाइटिस् बढदै, १०३ सङ्क्रमति र २० को मृत्यु

हेल्थपत्र

२०८२ भाद्र २६ बिहीबार

काठमाडौँ, १२ भदौ ः जापानिज इन्सेफलाइटिस्को सङ्क्रमण बढदै गइरहेको छ । गतबर्षको तुलनामा यसबर्ष जापानिज इन्सेफलाइटिस् सङ्क्रमण बढदै गएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोपशाखा प्रमुख डा. अभियान गौतमले जापानिज इन्सेफलाइटिस्को सङ्क्रमण बढदै गएको बताए । जापानिज इन्सेफलाइटिस्बाट अहिलेसम्म १०३ जनामा देखिएको र २० जनाको मृत्यु भइसकेको जानकारी दिए ।
उनका गतबर्ष २०२४ जुलाई महिनामा ५ जनामा सङ्क्रमण देखिएको थियो भने यसबर्षको जुलाईमा ३९ जना पुगेको छ । यस्तै सन् २०२४ को अगष्टमा ३२ जनामा देखिएको सङ्क्रमण यसबर्षको अगष्टमा ६१ जनामा पुगेको छ । “ विगतको तथ्याङ्क हेर्दा जापानिज इन्सेफलाइटिस्को सङ्क्रमण बढदै गइरहेको छ,” उनले भने “लामखुट्टै सक्रिय भएर हो कि, सगुर वा हाँसको अवस्थित पालनले गर्दा हो त्यसको अध्ययन हामीले गरिरहेका छौ ।”
खोपशाखा प्रमुख डा. अभियान गौतमले जापानिज इन्सेफलाइटिस्को सङ्क्रमण खोप नलगाएका मानिसमा धेरै देखिएको बताए । “७० प्रतिशतभन्दा बढी मृत्यु १५ बर्षभन्दा माथिका उमेर समूहकाका विरामी रहेका छन्” उनले भने, “सङ्क्रमितमध्ये ६० प्रतिशत कृषि व्यवसायमा संलग्न भएकोलाई देखिएको छ ।”
उनका अनुसार झापा, मोरङ् तेह्रथुम, बारा, सिन्धुली, अर्धाखाँची, प्यूठान, दाङ, बर्दिया र कैलालीमामा एक÷एक जना तथा रौतहट र नवलपरासी पूर्वमा दुई जना÷दुई जना, चितवन र नवलपराली पश्चिममा तीन÷तीन जनामा सङ्क्रमणबाट मुृत्यु भइसकेको छ ।
सन् २०२४ मा जापानिज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनालाई सङ्क्रमण भएको थियो ।
जापानिज इन्सेफलाइटिस्बाट २८ जिल्ला उच्च जोखिमका रहेको छ ।
यो रोग विशेषगरी साउनदेखि कार्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिस् विरुद्धको खोप लगाइएको छ ।
नेपालमा सन् १९९८ देखि ५ बर्ष मुनिका बालबालिकालाई नियमित जापानिज इन्सेफलाइटिस् विरुद्धको खोप लगाइदै आइरहेको छ । नेपालमा सन् १९७८ मा पहिलो पटक रुपेन्देही जिल्लामा जापानिज इन्सेफलाइटिस् रोग देखिएको हो । जापानमा भने सन् १८६१ मा देखिएको थियो ।
खोपशाखा प्रमुख डा. अभियान गौतमले जापानिज इन्सेफलाइटिस्को सङ्क्रमण सन् १९९० देखि धेरै नै देखिने थालेको बताए । त्यसपछि सरकारले राष्ट्रिय खोपमा जापानिज इन्सेफलाइटिस्को विरुद्धको खोप पाँच बर्ष मुनिका बालबालिकालाई प्रत्येक बर्ष नियमित दिदै आएको हो ।
कसरी सर्दछ
जापानिज इन्सेफलाइटिस् मस्तिष्कमा सङक्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामुखट्टै साँझपख तथा झिसमिसे विहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानवाली, दलदल र पानी जम्ने स्थानहरु लामखुट्टैको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा संङ्क्रमणको जोखिम बढी हुन्छ ।
जापानिज इन्सेफलाइटिस् गम्भिर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, वेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्यु समेत हुन सक्छ ।
यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भएपनि धेरैजसो १५ वर्ष मुनिका बालबालिकामा देखिने गर्दछ ।
यो भाइरसबाट सङक्रमित हाँस, कुखुरा जस्ता चरा–चुरुङ्गी र सुँगर–बँगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे सङ्क्रमित हुन्छ र ती सङक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ । जापानिज इन्सेफलाइटिस् मानिसबाट मानिसमा भने सर्दैन ।
लक्षण
ज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी लाग्नु, कमजोरी महसुस हुुनु जस्ता यस रोगका लक्षण हुन् ।
गम्भिर लक्षण
१०२ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउनु, टाउको वेस्सरी दुख्नु, शरिर कम्पन हुनु, अर्धचेत वा वेहोस हुनु, शारीरिक कमजोरी वा पक्षाघात हुनु जस्ता यसका गम्भिर लक्षण हुन् ।
बच्ने उपाय
लामखुट्टैको टोकाईबाट बच्नु नै जापानिज इन्सेफलाइटिस्बाट बच्नु पर्दछ । जापानिज इन्सेफलाइटिस् रोगबाट बच्नकोलागि आफ्ना बालबालिकालाई १२ महिनामा जापानिज इन्सेफलाइटिस् खोप लगाउनु पर्छ ।
यदि यो खोप लिन छुटको छ भने ५ वर्षको उमेरसम्म पनि जापानिज इन्सेफलाइटिस् खोप लगाउन सकिन्छ । झुल प्रयोग गरेर सुत्ने, घरबाट बाहिर निस्कदा, खेतीपातीमा काम गर्दा पुरा वाहुला भएको कपडा लगाउनुपर्दछ । यस्तै घरभित्र लामखुट्टै धपाउने घूप वा स्प्रे प्रयोग गर्नुपर्दछ ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक