एस्फोडल स्कुलमा नमुना संसद् कार्यक्रम

हेल्थपत्र

२०८२ भाद्र २५ बुधबार

काठमाडौं । जब सभामुख र उपसभामुख संसद् छिरे, तब सांसद आ–आफ्नो ठाउँबाट उठे । सभामुखले राष्ट्रिय गानसँगै बैठक प्रारम्भ गरे । त्यसपछि क्रमैसँग सांसदले आ–आफ्नो क्षेत्रका विशेष मुद्दालाई संसद्को ध्यानाकर्षण गरे।

सत्तापक्ष र प्रतिपक्षबीच निकैबेर सवाल–जवाफ चल्यो । संसदमा महङ्गी बढेकोदेखि सहकारी ठगि नियन्त्रणसम्मको विषयले प्राथमिकता पायो ।
सत्ता पक्षका प्रधानमन्त्रीदेखि मन्त्री र सांसदले सरकारका कामको रक्षात्मक जवाफ पेस गरे भने प्रतिपक्षका सांसदहरूले सरकारको कामकारबाहीको कडा आलोचना गरे ।

 

देख्दा संघीय संसद्को झल्को आउँथ्यो । पात्र, विषय र भूमिका अभ्यासका निम्ति भए पनि देशको परिस्थितिसँग दुरुस्त थियो ।संसदमा बोल्न नजान्ने, उत्तेजक र आक्रामक सांसद, सरकारले बाँड्ने विकासको आदर्शदेखि संसद्को प्राविधिक कमजोरीको समेत ठ्याक्कै चित्रण अभ्यासमा देखाइयो ।

एस्फोडल स्कुल (प्लस टू) मा कक्षा ८, ९ र १० का विद्यार्थीले सोमवार प्रस्तुत गरेको नमुना युवा संसद् कार्यक्रम चलाएका हुन् ।
विद्यालयका शिक्षकहरुले संसद् नमुना भए पनि पात्रहरूको चरित्र र प्रस्तुति वास्तविक सांसद, मन्त्री र प्रधानमन्त्रीकै जस्तै प्रस्तुत भएको बताए ।

विद्यार्थीलाई संसद्को काम, कर्तव्य, अधिकार, संसदमा पेश हुने विधेयक र त्यसको विधि एवं प्रक्रियाबारे जानकारी गराउँदै शिक्षा विधेयकसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रम दुई घन्टाभन्दा बढी समय सञ्चालन भएको थियो ।


कार्यक्रममा झण्डै ५० जना छात्रछात्रा प्रत्यक्ष रूपमा संसद्को विभिन्न भूमिकामा सहभागी थिए ।

नमुना संसद्को अभ्यासले आफूहरूलाई निकै खुसी र ऊर्जा प्राप्त भएको नमुना संसदमा प्रधानमन्त्री बनेका विजय सुवेदीले बताए । सो अवसरमा सभामुखको भूमिकामा कक्षा १० का सचिन केसी रहेका थिए । यस्तै, उपसभामुखको भूमिकामा आयुश्री शाही रहेकी थिईन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक