पूर्वकर्म तथा पञ्चकर्म सेवा शुभारम्भ

हेल्थपत्र

२०८२ भाद्र २६ बिहीबार

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका–३ स्थित नागरिक आरोग्य सेवा केन्द्रमा पहिलो पटक पूर्वकर्म तथा पञ्चकर्म (थेरापी)सेवा शुभारम्भ भएको छ ।

नसा च्यापिएका, बाथरोग, मोटोपन घटाउनेलगायत समस्या आयुर्वेद पद्धतिमा थेरापीबाट समाधान गर्न सकिने उद्देश्यले सो सेवा सुरु भएको नागरिक आरोग्य सेवा केन्द्र खजुराका प्रमुख किरण खनालले बताए। सेवाग्राहीको रोग पहिचान गरी उपचारलाई प्रभावकारी बनाउन पूर्वकर्म तथा पञ्चकर्म थेरापीले ठूलो भूमिका निर्वाह गर्ने उनले बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले पञ्चकर्म र पूर्वकर्म थेरापी सेवा विस्तारले आयुर्वेद उपचार पद्धति र योग शिक्षाप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै खजुरा नागरिक आरोग्य सेवा केन्द्रलाई अस्पतालका रुपमा विकास गर्न आवश्यक रहेको बताए । खनालका अनुसार नागरिक आरोग्य सेवा केन्द्रमा निःशुल्क औषधि वितरण, सुत्केरीलाई लक्षित गरी स्तनपान सेवा, दुग्धवद्र्धक र सुरक्षात्मक औषधि वितरण, विद्यालय आयुर्वेद तथा योग शिक्षालगायतका सेवा प्रवाह गरिनेछ ।

त्यसैगरी नसर्ने रोगको न्यूनीकरणमा समेत सेवा केन्द्रले सन्देश प्रवाह गर्ने बताइएको छ । चिकित्सा विज्ञानसँगै आयुर्वेद उपचारलाई पनि पालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय मानिसको दैनिक जनजीवन अस्तव्यस्त भएकाले नसर्ने रोगको न्यूनीकरणका लागि सो उपचार पद्धति प्रभावकारी उपायका रुपमा मानिएको छ ।

पछिल्लो समय बाँकेका अधिकांश स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापना गरेर आयुर्वेद उपचार पद्धतिमार्फत उपचार र योग साधनामा जोड दिइएको छ । चालु आर्थिक वर्षको छ महिनामा पूर्व पञ्चकर्म सेवा दुई हजार नौ सय १० ले लिएका छन् । यसैगरी ज्येष्ठ नागरिकतर्फ नौ सय २७ ले सेवा लिएका छन् । योग सेवा लिनेको सङ्ख्या दुई हजार दुई सय ८७ रहेको छ ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक