नेपालमा क्यान्सर उपचारमा ‘कार–टी सेल’ थेरापीको सफल प्रयोगशाला परिक्षण

हेल्थपत्र

२०८२ भाद्र २५ बुधबार

काठमाडौं । नेपालमा क्यान्सर उपचारमा ‘कार–टी सेल’ थेरापीको प्रयोगशाला सफल रुपमा परिक्षण भएको छ ।

सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले काठमाडौंमा शनिबार पत्रकार सम्मेलनमार्फत् अति उच्च प्रविधियुक्त यो उपचार विधिको सफल प्रयोगशाला परिक्षण नेपालमा प्रथम पटक भएको जानकारी गराएको हो ।

हालसम्म विकसित मुलुकमा सिमित कार–टी सेल थेरापीलाई नेपालमा समेत प्रयोगमा ल्याउन सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालको स्थापना भएको छ ।

बायोथेरापीमध्ये कार–टी सेल थेरापीको प्रभावकारीता खासगरि रक्त क्यान्सर उपचारमा प्रभावकारी देखिएको हो ।

अमेरिकाको न्यासनल क्यान्सर इन्स्टिच्युट र पेन्सिलभेनिया विश्वविद्यालयमा गरिएको कार टी सेल थेरापीको अध्ययनमा ९० प्रतिशतभन्दा बढि ‘बि–सेल’ क्यान्सर बिरामी पूर्ण रुपमा निको भएको पाइएको छ ।
‘कार–टी सेल’ एक विशेष उपचार पद्यती हो । अमेरिकाको एस्ट्राजेनेका फार्मास्युटिकल्सको अन्कोलोजी विभागका डा.सञ्जीवन गौतमले ‘कार–टी सेल’ उपचार पद्यतीको प्रयोग एएलएल र एनएचएल क्यान्सर विरामीका लागि प्रभाबकारी रहेको बताए ।

डा.गौतमले भने, ‘यसमा प्रयोग हुने रिएजेन्ट र उपकरण निकै महगों र जटिल प्रविधियुक्त हुन्छन् । तीनदेखि पाँच करोडसम्म खर्च लाग्ने ‘कार–टी सेल’ थेरापीलाई दश गुणा कम लागतमा उपलब्ध गराउने उद्देश्य सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालको छ ।’

वीर अस्पतालका कलेजो रोग विशेषज्ञ प्रा.डा.सुधांशु केसीले ‘कार–टी सेल’ थेरापी क्यान्सर मात्र नभई कलेजो, मधुमेह, स्वप्रतिरक्षा तथा मुटु सम्बन्धी रोगहरुमा पनि प्रभावकारी देखिएको बताए ।
रक्त क्यान्सरमा सफलतापूर्वक परिक्षण गरिएको यो उपचार पद्यती नेपालमा प्रयोग ल्याउँदा वर्षेनी एक सय जना भन्दा बढि विरामी लाभान्वित हुने विज्ञहरु बताउँछन् ।
आनुवंशीकी वैज्ञानिक बलराम गौतमले ‘कार–टी सेल’ प्रविधिका लागि आवश्यक सामान पश्चिमा मुलुकबाट ‘फ्रिजीगं कण्डिसन’ मा आयात गर्नुपर्ने हुँदा महगों पर्ने र ढुवानीमा जटिलता आउने जस्ता समस्या सृजना हुने बताए ।

हालसम्म अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले ६ वटा ‘कार–टी सेल’ लाई मान्यता दिएको छ ।

सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले यी मान्यता प्राप्त ‘कार–टी सेल’ लाई औषधि व्यवस्था विभागको स्विकृत मार्फत् नेपालमानै उत्पादन गर्ने लक्ष्य लिएको छ ।
सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालका सल्लाहका समेत रहेका डा.सञ्जीवन गौतमले अमेरिकि, जर्मन र ब्राजीली संस्थाहरुको सहकार्य र सहयोगबाट कार–टी सेललाई १० गुणा कम खर्चमा नेपालमै उत्पादन गर्ने उद्देश्य रहेको बताए ।

बेलायतको केभेन्ट्री विश्वविद्यालयका डा.ओम कुर्मिले कारटी सेल थेरापीले अबका केहि वर्षमानै उपचार पद्यतीमा महत्वपूर्ण हिस्सा ओगट्ने बताए । उनले नेपालमा यसका चुनौतीमध्ये रोगी र चिकित्सकलाई यसबारे पर्याप्त जानकारी नहुनु रहेको बताए ।

नेपाली प्रयोगशालामा पहिलो पटक सफल परिक्षण गरिएको कार–टी सेललाई मानव प्रयोगमा ल्याउन अझै एक वर्ष लाग्ने यसमा संलग्न वैज्ञानिकहरुको प्रक्षेपण छ ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक