दिपा दाहालको ‘कोभिडः नसोचेको–नभोगेको संकट’ सार्वजनिक

हेल्थपत्र

काठमाडौँ । पत्रकार दिपा दाहालले लेखेको ‘कोभिडः नसोचेको–नभोगेको संकट’ पुस्तक विमोचन भएको छ । शनिबार काठमाडौँको कमलादीमा आयोजित एक कार्यक्रममा डा. सन्दुक रुइत, गणेश रसिक र मानवअधिकारकर्मी मोहना अन्सारीले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन् ।
१५ वर्षदेखि पत्रकारितामा सक्रिय दाहालसँग देशमा उत्पन्न झाडापखला, स्वाइन फ्लुलगायतको महामारी, भूकम्प, नाकाबन्दी, बाढीपहिरोलगायत विपद्को स्थलगत रिपोर्टिङ गरेको अनुभव छ ।
दाहालले सन् २०१९ देखि नेपालमा फैलिएको कोरोना महामारीमा गरेको स्थलगत रिपोर्टिङको अनुभव र थप अध्ययन गरी महामारीको समग्र प्रभाव संक्षेपमा अभिलेख राख्ने क्रममा पुस्तक लेखेको बताइन् ।
पुस्तकमा कोरोना महामारीका कारण चीनको वुहान विथोलिएको प्रसंगदेखि, नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी नहुँदा स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, पर्यटन, कृषिलगायत क्षेत्रमा परेको प्रभाव समेटिएको उनको भनाइ छ । महामारीका बेला देखिएको सरकारको लापरवाही, बेथिति,बद्समासी, भ्रष्टाचार, अनियमितता, कालोबजारीलगायत विषय पनि पुष्तकमा समावेश गरिएको छ ।
महामारीबाट प्रभावित र संक्रमितहरूको जीवन जोगाउन चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षकर्मी, स्वयम्सेवकलगायतले गरेको योगदानबारे पनि दाहालले पुस्तकमा उल्लेख गरेकी छन् । पुस्तकका विशेषज्ञ सल्लाहकार डा. अनुप सुवेदी हुन् । डा. सुवेदीले महामारीको समयमा हरेक देशका आ–आफ्नै समस्या भए पनि नेपाल राजनीतिक किचलो र भ्रष्टाचारमा गिजोलिएको बताए ।
कोरोना महामारीको तेस्रो लहर टरिसक्दा पनि नयाँ आउने स्वास्थ्य संकटबारे सरकारको तयारीका विषयमा अझै प्रश्न गर्ने स्थान रहेको उनले बताए। पुस्तकको विज्ञ समिक्षकको रूपमा प्रस्तुत भएका डा. अर्जुन कार्कीले दाहालद्धारा लिखिक पुस्तकले महामारीका बेला राज्यसंयन्त्र कति भद्रगोल रहेछन् भन्ने पुष्टि गर्ने एक दस्ताबेज भएको बताए ।
बारबारा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले फाउन्डेसनले सामाजिक क्षेत्रका लागि छुट्ट्याएको फन्डमार्फत ‘स्वास्थ्य शिक्षा’ पुस्तकलाई स्थान दिएको बताए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक