जागिरे मात्र भएर आयुर्वेदको विकास सम्भव छैन : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थपत्र

२०८२ भाद्र २६ बिहीबार

काठमाडौं, । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद अस्पतालहरुमा कार्यरत जनशक्तिले जागिरे मात्र भएर काम गरे आयुर्वेद क्षेत्रको विकास नहुने बताएका छन् ।

आयुर्बेद चिकित्सालय नरदेबीले सोमबार आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसर पारेर आयोजना गरेको सप्ताहव्यापी आयुर्वेद तथा योग सम्बन्धी कार्यक्रमको शुभारम्भ गर्दै उनले जागिर पकाउने र दिन कटाउने मनस्थिति परिवर्तन नगरेसम्म आयुर्वेदले फड्को मार्न नसक्ने बताएका हुन ।

मन्त्री बस्नेतले भने, ‘ आयुर्वेदको विकासका लागि जागिरे मनस्थिति होइन,यसको विकास र विस्तारका लागि जाँँगर निकाल्नुहोस । तपाईहरुको अनुभव र इच्छाशक्ति भयो भने मात्र आयुर्वेदको विकास सम्भव छ । ’

अनुभूति हुने गरि उपचार सेवा प्रवाह नगर्दासम्म आमसमुदायमा आयुर्वेद प्रतिको विश्वास जाग्न नसकिने दावी गर्दै उनले सरकारले मात्र आयुर्वेदको विकास गर्न नसक्ने भएकाले यो क्षेत्रमा कार्यरत जनशक्ति लाग्नै पर्नेमा जोड दिए ।

चिकित्सा शिक्षा ऐनमा संशोधन आवश्यक रहेको बताउदै मन्त्री बस्नेतले चिकित्सा क्षेत्रका विद्यार्थीले स्वदेशमै पढ्न पाउन वातावरण बनाउन सरकार लागिरहेकोले यसले केही दिनमै परिणाम दिने दावी गरे ।

उनले आयुर्वेद चिकित्सालयहरुमा पनि जनशक्ति अभाव भएको बताउँदै अत्यावश्यक जनशक्ति थप गर्न स्वास्थ्य मन्त्रालयले पहल गरिरहेको जानकारी दिए ।

आयुर्वेद चिकित्सालय नरदेबीका कार्यकारी निर्देशक डा.श्यामबाबु यादवले ११८ शैयाबाट उपचार सेवा प्रदान गरिरहेको अस्पतालले निकट भविश्यमै २०० शैयाको बनाउने योजना अनुसार अगाडि बढीरहेको जानकारी दिए ।

डा.यादवले आफुले निर्देशकको जिम्मेवारी सम्हालेपछि बहिरंग सेवा (ओपिडी) सेवा बिहान साढे ८ बजेदेखि गरेको, १५ शैयाको जनरल शैया बढाएर २५ शैया बनाएको, भर्ना भएका विरामीका लागि नि:शुल्क खानाको व्यवस्था गरेको र सेवा बिस्तार गरेको दावी गरे ।

उनले निकट भविष्यम अस्पतालमा आयुर्वेदको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।

स्वास्थ्य मन्त्री बस्नेतले अस्पतालको नयाँ सिटी स्क्यान मेसिनको पनि उदघाटन गरेका थिए । उक्त सिटी स्क्यान मेसिन आउदो माघ १ गतेदेखि सञ्चालनमा आउने छ । कार्यक्रममा आयुर्वेद विभागका महानिर्देशक डा.बासुदेव उपाध्याय लगायत आयुर्वेद क्षेत्रका अधिकारीको सहभागिता थियो ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक